
बागलुङ, १ चैत । धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका दिपक सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाल विद्यार्थी संघका नेता समेत रहेका सुवेदीले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् । उनले नेविसंघबाट उम्मेदवार बनेकी सृष्टि आचार्यको प्यानललाई समर्थन गर्ने बताए ।
उम्मेदवारी फिर्ताको समयमा कसैले पनि फिर्ता नलिएको अवस्थामा सबैको उम्मेदवारी कायम रहेपनि सुवेदीले पत्रकार सम्मेलन गरेर फिर्ता लिएको घोषणा गरेका हुन् । उनले वारेसबाट उम्मेदवारी दिएको र वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर उम्मेदवारी फिर्ताको समयमा फिर्ता लिन जानकारी गराएपनि प्राविधिक कारणले उम्मेदवारी कायम रहेको बताए । ‘मैले वारेस मार्फत उमेदवारी दिएको थिएँ, वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर समयमै जानकारी गराएको थिएँ’ उनले भने, ‘प्राविधिक कारणले नाम रहेपनि मेरो उमेदवारी कायम छैन ।’
पत्रकार सम्मेलनमा सुवेदीले आफ्नो तातो रगतको जोशमा उम्मेदवारी दिएको बताउँदै अब जोसले हैन संगठनका लागि उम्मेदवारी फिर्ता गरेको बताए । उनले पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने बताउँदै आफु पछि हटेको र पार्टीले टिकट दिएकी आचार्यलाई समर्थन गरेको बताए । सुवेदीले आफ्नो कारणले नेविसंघको कमजोर उपस्थिति नहोस् भनेर नाम फिर्ता गरेको बताए ।
स्ववियु अध्यक्षको टिकटका लागि नेविसंघमा आचार्य र सुवेदीको रस्साकस्सीपछि आचार्यले टिकट हात पारेकी थिइन । नेविसंघ जिल्ला समिति र नेपाली काँग्रेस जिल्ला समितिले उम्मेदवारी फाइनल गर्न नसकेपछि नेविसंघको केन्द्रीय समितिले आचार्यलाई टिकट दिएको थियो । आचार्यलाई टिकट दिएपछि असन्तुष्ट बनेका सुवेदी स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए ।
उक्त पत्रकार सम्मेलनमा नेविसंघको तर्फबाट अध्यक्षकी उमेदवार सृष्टी आचार्यले सुवेदीको निर्णयले धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिला सभापति बन्ने अबसरको ढोका खुलेको बताइन् । उनले सबैको योगदानको कदर गर्दै आफ्नो उमेदवारीमा साथ दिन सबैलाई आग्रह पनि गरिन् ।
सोही समयमा नेविसंघले जारी गरेको निर्वाचन प्रतिबद्दता पत्र पनि सार्वजनिक गरेको थियो ।