जेसीज कपको उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङ, २३ फागुन । तेस्रो संस्करणको जेसीज कपको उपाधिको लागि गुराँस गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा गुराँस गुठी र साविक विजेता बागलुङ सुधार केन्द्रले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गुराँस गुठी युनाईटेडले बलेवा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

खेलको ३१ औं मिनेटमा मनिष श्रेष्ठको गोलबाट अग्रता लिएको गुराँस गुठीले ४५ औं मिनेटमा मनिषले नै गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

गुराँस गुठीको लागि खेलको ७३ औं मिनेटमा जेनिश प्रजापतिले गोल गर्दै फाइनलमा प्रवेश गराए । दुई गोल गरेका मनिष श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा साविक विजेता बागलुङ सुधार केन्द्रले ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सुधार केन्द्रले प्रर्पल हेज/एभिएमलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।

खेल निर्धारित समयमा गोलरहित बराबरी सकिए संगै ट्राइबेकरमा सुधार केन्द्र भाग्यमानी बन्यो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा सुधार केन्द्रको लागि सुनिल खड्का, राहुल गुरुङ, प्रशन्न श्रेष्ठ, सुशिल लामाको प्रहार गोलमा परिणत हुँदा कप्तान निशान थापाको प्रहार प्रर्पल हेजका गोलरक्षक नविन सिजवालले रोके ।

प्रर्पल हेजका विकास परियार, सविन नेपाली र केई बाफोरको प्रहार गोलमा परिणत हुँदा अनिष सुनारको प्रहार बाहिरिएको थियोभने सुदिप गुरुङको प्रहार सुधार केन्द्रका गोलरक्षक रुपेश हमालले बचाएका थिए । खेलको प्लेयर अफ दी म्याच सुधार केन्द्रका गोलरक्षक रुपेश हमाल घोषित भए ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल (भोली) शनिबार दिउँसो हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछभने विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।