
बागलुङ, ६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्तव्यस्त भएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटमा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष केसीले देशको व्यापार घाटा २५ खर्बभन्दा बढेर गएकोले असफल मुलुक बन्ने खतरा रहेको बताउनुभएको हो । उहाँले सरकार चलाउन गा¥हो भएको बेला ८/८ वटा सरकार चलाउन नसक्ने बताउँदै विदेशीले बोकाईदिएको संघीयताको भारी अब मुलुकले धान्न
नसक्ने भएकोले संघीयता खारेजीको बिकल्प नरहेको बताउनुभयो ।
उहाँले राज्यले युवाहरुलाई आशा जगाउन नसक्नुको कारणले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो । ‘राज्यले आशा जगाउन नसक्नु, शिक्षा र स्वास्थ्य जस्तो नागरिकको सरोकारका विषय नीजीकरण गर्नु, कलकारखाना कौडीको भाउमा निजीकरण गर्दा युवा रोजगारीबाट बञ्चित हुनुपरेको छ,’ केसीले भन्नुभयो,‘संघीयताले देशलाई अस्तव्यस्त बनाएको छ । संघीयता खारेजी गर्नुपर्छ त्यसको लागि काठमाडौं केन्द्रीत आन्दोलनलाई सफल पार्न सवैलाई आव्हान गर्छु ।’
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजीवी संघका काजीगाँउले श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले बोल्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसीको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठको स्वागत मन्तव्य र जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन गर्नुभएको थियो ।