
बागलुङ, ६ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुरन्दै पाण्डेले समृद्ध नेपालको संकल्प एमालेले मात्र पुरा गर्ने बताउनुभएको छ ।
नेकपा एमाले काठेखोला गाउँकमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटनपछि बोल्दै उपाध्यक्ष पाण्डेले मिसन ८४ मा एमालेले बहुमतसहित विजयी हासिल गरेमा सुखी नेपाली र समृद्ध नेपाल बनाउने संकल्प पुरा गर्ने बताउनुभयो । ‘समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित लाग्नुपर्छ,’ उपाध्यक्ष पाण्डेले भन्नुभयो,‘मिसन ८४ अन्तरगत एमालेले विजय हासिल गरेपछि बामपन्थी एकता सहित सुखी नेपाली, समृद्ध नेपाल बनाउने संकल्प पुरा हुन्छ ।’
उपाध्यक्ष पाण्डेले प्रत्येक निर्वाचनमा भएको कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । उहाँले एक–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने बताउँदै सवै एकजुट भएर पार्टी र देश बनाउन लाग्नुपर्ने बताउनुभयो । पुर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्नको लागि संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र समाउनु पर्नेमा जोड दिनुभयो ।
उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रीय पोलिट्ब्युरो सदस्य मन कुमारी के.सी. जि.सी., केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, डाक्टर सुर्य पाठक, बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिरा बहादुर के.सी., नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष यामदत्त कंडेल, राष्ट्रिय जनमोर्चा काठेखोला अध्यक्ष लक्ष्मण पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले काठेखोला गाँउ कमिटीका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपसचिव नर बहादुर क्षेत्रीले स्वागत मन्तव्य र सचिव विद्यापति शर्माले संचालन गर्नुभएको थियो ।










