
बागलुङ, २७ चैत्र । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय अर्धबार्षिक समिक्षा मंगलबारदेखि बागलुङ बजारमा सुरु भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङ, बागलुङका दश स्थानीय तहका स्वास्थ्य शाखा र अस्पतालहरुले फागुन मसान्तसम्म गरेको प्रगतिहरुको समिक्षा गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । उनले अहिलेसम्म भएका र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा छलफल हुने बताए ।
आचार्यले फागुन मसान्तसम्म बागलुङ जिल्लामा स्वास्थ्यका कार्यक्रमहरु लक्ष्य अनुरुप नै भएको बताए । उनले जिल्लामा खोप कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिएको बताए । दादुरा रुबेला खोप अभियानले खोप लगाउन छुटेका बालबालिकाको खोजी गरेको र पछि लगाउनुपर्ने खोपको बारेमा समेत पहिले खबर गरेको हुँदा खोप कार्यक्रम प्रभावकारी बनेको प्रमुख आचार्यको भनाई छ ।
बागलुङमा यस वर्षदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खाननपर्ने देखिएको प्रमुख आचार्यले बताए । उनले १४ औं पटकसम्म जिल्लामा औषधि खुवाइएको बताउँदै परिक्षण रिपोर्ट सुखद आएकोले यस वर्षदेखि औषधि खुवाउनपर्ने नदेखिएको बताए ।
अर्धबार्षिक समिक्षाको उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा स्थानीय तहहरुले सहकार्य गर्नुपर्ने बताए । ‘स्वास्थ्य क्षेत्र राम्रो बनाउनको लागि एक पालिकाले अर्को पालिकासँग सहकार्य गर्न आवश्यक रहेको,’ नगरप्रमुख श्रेष्ठले भने,‘एक पालिकाले गरेको राम्रो कार्यको अर्को पालिकालाई सिकाउँदै सवैले संचालन गरेमा सफल हुन सकिन्छ ।’
नगररप्रमुख श्रेष्ठले बागलुङमा पछिल्लो समय स्वास्य क्षेत्रमा राम्रो काम भइरहेको बताए । उनले केन्द्र र प्रदेशको कार्यक्रम मात्र नगरेर स्थानीय स्वास्थ्य क्षेत्रले नयाँ कार्यक्रम गर्नुपर्ने बताए । नागरिकलाई प्रभावकारी सेवा कसरी दिन सकिन्छ भनेर जिम्मेबार क्षेत्रले सोचनुपर्ने अवस्था रहेको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
बागलुङमा स्वास्थ्य वीमा कार्यक्रम संचालन भइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले त्यसको प्रभावकारीताको बारेमा अनुगमन गर्नुपर्ने र तल्लोस्तरसम्म लागु गरिनुपर्ने बताए । उनले आयुर्वेद औषधी उत्पादनमा जोड दिनुपर्ने बताए । ‘बागलुङका वनजंगलमा आयुर्वेदका प्रशस्त औषधिहरु पाइन्छ,’ नगरप्रमुख श्रेष्ठले भने,‘आयुर्वेदका कच्चा पदार्थहरुलाई प्रशोधन गरेर संचालन गर्न सकेमा सवैलाई फाइदा हुनेछ ।’
कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले स्वास्थ्यको गतिविधि र रिपोटिङ्गमा बागलुङ प्रदेशमै पहिलो नम्बरको रहेको बताए । उनले स्वास्थ्य कार्यालयहरुले आगामी दिनमा मिटिङ, गोष्टि कम गरेर देखिने स्वास्थ्य कार्यक्रम गर्नुपर्ने बताए ।
महानिर्देशक खड्काले अब स्वास्थ्य कार्यालयहरुले गर्भवती आमाहरुको टेकिङ्ग गरेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुपर्नेमा जोड दिए । खड्काले स्वास्थ्य कार्यालयहरुले नागरिकको लाइफस्टाइल र खानेपानीको क्षेत्रमा काम गर्नुपर्ने देखिएको बताए ।
उद्घाटन कार्यक्रममा धौलागिरी अस्पताल बागलुङमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरंजन श्रेष्ठ र जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दुई दिनसम्म संचालन हुने समिक्षा कार्यक्रममा स्वास्थ्य शाखाहरु र अस्पतालहरुले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख आचार्यले बताए । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रको संचालन सूचना अधिकारी घनश्याम सापकोटाले गर्नुभएको थियो ।