बागलुङ, १६ मंसिर । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १७ औं बार्षिक साधारण सभा शुक्रबारदेखि सुरु भएको छ । सहकारीले शुक्रबार शाखा कार्यालय काठेखोला गाउँपालिका–२ भीमापोखरामा साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्माले शेयर सदस्यहरुले सहकारीले नाफा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले शेयर सदस्यहरुले असार मसान्तपछि सहकारीले कति नाफा दियो भन्ने तर त्यसले सेवा कति दियो भन्ने बारेमा खोजी नगर्ने परिपाटी बताउँदै नाफा मात्र नभइ सेवा पनि हेर्नुपर्ने बताउनुभयो । शेयर सदस्यहरुले सहकारीबाट लगेको ऋण समयमै तिरेका छौंकी छैनौं त्यसमा पनि ख्याल गर्नुपर्ने वडा अध्यक्ष शर्माले बताउनुभयो ।
वडाअध्यक्ष शर्माले सहकारीहरुले नाफामा मात्र नभइ सेवामुलक काम गर्नुपर्ने बताउँदै शेयर सदस्यहरु पनि सेवा मुलक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल सूचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक खिम बहादुर कार्की, संस्थाका सल्लाहकार डा. डिल्लीराज गौतम र गंगा बहादुर हमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको स्वागत उपाध्यक्ष तोयानाथ गौतम र संचालन सचिव उदयचन्द्र चपाईले गर्नुभएको थियो ।
साधारणसभाले संस्थाका सचिव उदयचन्द्र चपाईले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष तुल्सीनाथ गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सहकारीले शनिबार मुख्य कार्यालय बागलुङमा साधारणसभा गर्ने अध्यक्ष शर्माले बताउनुभयो । उहाँले साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने बताउनुभयो ।