बागलुङ कप टी२० क्रिकेट: नवलपुर समुह विजेता

बागलुङ, २३ कार्तिक । बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै नवलपुर समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो दोस्रो खेलमा स्याङ्जालाई ४ विकेटले हराउँदै नवलपुर समुह विजेता बनेको हो ।

१ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नवलपुरले १६.२ ओभरमा ६ विकेट गुमाएर पुरा पुरा गर्यो । नवलपुरको लागि ओपनर गोविन्द विकले ३८ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले । रविन तिमिल्सिनाले १० रन बनाए ।

स्याङ्जाको लागि सन्दिप खत्रीले ३.२ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । आश्विनी रानाले २ विकेट लिए ।

त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । स्याङ्जाको लागि करण पंगेनीले २२ रन र अंकित न्यौपानेले १६ रन बनाए ।

नवलपुरको लागि सुदिप अर्याल, कुमार राना र अपरजित पौडेलले २–२ विकटे लिएभने शिशिर भुषाल र कमल परियारले १–१ विकेट लिए । पराजित स्याङ्जा समुह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समुह ए को विजेता कास्की र समुह वि को उपविजेता स्याङ्जा विच हुनेछभने दोस्रो खेल समुह वि को विजेता नवलपुर र समुह ए को उपविजेता पर्वत विच हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here