
बागलुङ, २२ कार्तिक । बागलुङमा जारी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर र स्याङ्जा जिल्ला क्रिकेट संघ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार नवलपुरले तनहुँलाई ५५ रनले पराजित गरेपछि समूह बि बाट एक खेल अगावै स्याङ्जा र नवलपुरले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
समुह चरणको दोस्रो खेलमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १७.५ ओभरमा १५६ रनमा अलआउट भयो ।
तनहुँको लागि दिनेश बुढा मगरले ४५ बलमा ९७ रनको अर्धशतकीय इनिङ खेलेपनि जितको लागि प्रयाप्त रहेन । १० चौका र ८ चक्का प्रहार गर्दै आक्रमक इनिङ खेलेका दिनेश शतक बनाउन ३ रनले चुके । तनहुँको लागि आनन्द सुनारले १२ र चन्द्रकान्त पौडेलले १० रन बनाए ।
खेलको म्यान अफदी म्याच बनेका नवलपुरका कप्तान कमल परियारले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सुदिप अर्यालले २ र सागर डोटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नवलपुरले रविन शर्मा र सुदिप अर्यालको अर्धशतकको मद्दतमा २ सय ११ रनको विशाल योगफल बनाएको थियो । रविनले ३९ बलमा ५ चौका र ४ चौकाको मद्धतमा ५९ रन बनाए । १९ बलमा अर्धशतक पुरा गरेका सुदिपले २१ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ५२ रनको विष्फोटक इनिङ खेलेका थिए ।
नवलपुरका प्रनिश अर्यालले १७ बलमा २५ रन बनाए । तनहुँको लागि सन्दिप पराजुलीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । दिनेश बुढा मगरले २ र चन्द्रकान्त पौडेलले १ विकेट लिए ।
समुह चरणको दुई खेलमा पराजित हुँदै तनहुँले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ । समुह ‘बि’को विजेता र उपविजेताको लागि बिहिबार नवलपुर र स्याङ्जा विच खेल हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका मिडिया फोकलपसर्न अभिषेक कटुवालले बताए ।
यस्तै बुधबार भएको पहिलो खेलमा कास्कीले पर्वतलाई ४ विकेटले हराएको छ ।
जितको लागि १ सय १ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कास्कीको जितमा कप्तान विपिन खत्रीले २२ बलमा २५ रनको अविजित इनिङ खेले । यस्तै नेपाल अन्डर १९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुवास भण्डारीले १३ रनमा अविजित रहे ।
पर्वतको लागि विनोद नेपालीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएभने कप्तान अमृत्त गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । पर्वतको लागि कप्तान अमृत्त गुरुङले ४३ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ खेलेपनि जितको लागि प्रयाप्त रहेन । अमृत्त प्रतियोगिताको अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
प्रतियोगिताको म्यान अफदी म्याच घोषित भएका कास्कीका सुवास भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
बिहिबारको पहिलो खेल समुह ए का कास्की र आयोजक बागलुङ विच हुनेछ । उक्त खेलबाट समुह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । समुह ए बाट एक खेल खेलेको कास्कीको २ अंक रहेको छभने दुई खेल खेलेको पर्वतको १ खेलमा जित र १ मा हार सहित समान २ अंक रहेको छ । एक खेल खेलेको आयोजक बागलुङले खाता खोल्न सकेको छैन । सेमिफाइनल पुग्न बागलुङलाई जित्नै पर्ने दबाब छभने कास्की जित हातपार्दै ४ अंकका साथ समुह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ ।