चिल्ड्रेन लाईफलाई उपाधि

बागलुङ, १ असोज । अन्तर माध्यमिक विद्यालय (+१०)स्तरीय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा न्यू ओयसिस एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो । चिल्ड्रेन लाईफलाई उपाधि जिताउन विशाल थापाले ह्याट्रिक गरे । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा चिल्ड्रेन लाईफले दबाब कायम गरेको थियो ।

खेलको २७ औं मिनेटमा पहिलो गोल गरेका बिशालले ३२ औं र ५२ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गरे । खेल अवधिभरमा चिल्ड्रेन लाईफ र न्यू ओयसिसले गोलका केहि सुन्दर अवसरहरु खेर फालेका थिए ।

उपाधि विजेता चिल्ड्रेन लाईफले नगद २५ हजार रुपैयाँ र उपविजेता न्यू ओयसिस एकेडेमीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै विधागत पुरस्कार तर्फ उत्कृष्ट गोलरक्षक चिल्ड्रेन लाईफका गोलरक्षक अनिश खड्का, उत्कृष्ट डिफेन्डर गरिमा माविका अप्सन गौतम, सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका कप्तान प्रतिक थापा घोषित भए । यस्तै प्रतियोगिताको उच्च गोलकर्ता चिल्ड्रेन लाईफका बरदान थापा भएका छन् । उनले प्रतियोगितामा ३ गोल गरेका थिए । यस्तै अनुशासित टिम गरिमा माध्यमिक विद्यालय घोषित भएको छ ।

विजेता र उपविजेता टिम र खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, बागलुङ नगरपालिका–२ का वडाअध्यक्ष सुरज बोसेल, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, निवर्तमान अध्यक्ष रामराज गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

जिल्ला फुटबल संघ बागलुङले भदौ २९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा जिल्लाका १४ विद्यालयले सहभागिता जनाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here