काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौं, ३० भदाै । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here