शिवशिखर सहकारीका अध्यक्ष शर्मा मुम्बईबाट पक्राउ

काठमाडौं, १२ असार । भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले शर्मालाई सोमबार काठमाडौं ल्याइपुर्‍याएको छ ।

उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here