१३ औं सागः नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश

काठमाडौं, १४ मंसिर ।
नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेश गरेको नेपाली महिला भलिबल टोलीले कम्तीमा पनि रजत पदक पक्का गरेको छ ।
नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–१८ को सहज जित निकालेको थियो । तेस्रो सेटमा शुरुवात देखि नै श्रीलंकासँग पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । नेपालले ११ अंकमा बराबरी गर्न सफल हुँदै २५–२१ को जित हात पार्न सफल भयो ।
अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here