
बागलुङ, १९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापा गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् ।
फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै थापालाई बागलुङको फ्युचर ब्राइटर माध्यमिक विद्यालयले बिहिबार सम्मान गरेको हो । थापा विद्यालयका पूर्व विद्यार्थी हुन् ।
विद्यालयमा प्राधानाध्यापक बालकृष्ण शर्माले राष्ट्रिय फुटबल खेलाडी थापालाई नगद १० हजार सहित सम्मानित गरिएको बताउनुभयो । फुटबलर थापालाई जिल्ला खेलकुद विकास समति बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले थापालाई संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले तीनै तहको सरकारले खेलकुदमा प्रयाप्त बजेट विनियोजित नगरेको गुनासो गर्नुभयो । उहाँले बाहिरबाट हेर्दा खेलकुदलाई राज्यले हेर्छ भनेपनि अझै खेल र खेलाडीलाई प्रयाप्त सेवा सुविधा नदिन नसकेको बताउनुभयो ।
अध्यक्ष खड्काले खेलकुद क्षेत्रमा लगानी नहुँदा उम्दा खेलाडिहरु जीविकोपार्जनकै लागि बिदेशीनु परेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र गुराँस विद्या सदनका प्रधानाध्यापक निशान खड्काले बोल्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले विद्यालयका पूर्व विद्यार्थी कमलले फुटबलबाट जिल्ला र नेपालीकाे नाम राख्न सफल भएकाले सम्मान गरिएको बताउनुभयो । उहाँले कमलबाट अन्य विद्यार्थीहरुले पनि सिक्न सक्ने बताउँदै कमल जस्तै राष्ट्रिय खेलाडी उत्पादनको लागि विद्यालयले खेलकुदमा लगानी गर्न लागेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक नवराज गौतम र सञ्चालन कक्षा १० कि विद्यार्थी भुमिका थापाले गर्नुभएको थियो ।
कमल बागलुङबाट राष्ट्रिय टिममा डेब्यू गर्ने पहिलो खेलाडी हुन् । उनले विश्वकप तथा एसियन कप छनोटको खेलमा अष्ट्रेलियासँग खेल्दै राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । कमल हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबबाट खेलिरहेका छन् । मिडफिल्डर पोजिनबाट खेल्ने कमलले ए डिभिजन लिगमा मनाङबाट डेब्यू गोल समेत गरेका छन् ।
एन्फाको गोल्डेन ब्याचका खेलाडी समेत रहेका कमलले नेपालको उमेर समुह अन्तरगत अन्डर–१३ र अन्डर–१६ बाट खेलिसकेका छन् ।












