म्याग्दीमा भुमे पूजामा लिङ्गो जुधाई प्रतियोगिता

साधन घर्ती
म्याग्दी (दरबाङ), १७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुशी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै गाउँ बराबरी भएका छन् ।

दुई गाउँबीच मङ्गलबार भएको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाइएको थियो । यो वर्ष समान उचाइका दुई वटै गाउँका लिङ्गो बराबरी भएका वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

हरेक वर्षको जेठ महिनामा मनाइने भुमे पूजाको अवसरमा यो प्रतियोगिता सञ्चालन गरिन्छ । करिब चार सय वर्ष पुरानो इतिहास रहेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । विशेष गरी प्रकृति पूजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ । दग्नामको भुमे पूजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिष्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउँदै आएका छन् ।

प्रकृतिको पूजा स्वरुप मङ्गलबार दग्नाममा भुमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानियले मुल्का डाँडामा ध्वजा पतकाले सिङ्गारिएको बाँसको लिङ्गो प्रतिष्पर्धा गराएका थिए । वडा अध्यक्ष गर्बुजाले भुमे पूजाको अवसरमा मेला समेत सञ्चालन गरिएको जानकारी दिनुभयो । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाईको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाग्लो उपस्थिति रहेको थियो ।

प्रतियोगिताको अवलोकन गर्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले परम्परागत मौलिक संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । स्थानिय पुर्ख्यौली गीत, नृत्य, पञ्चेवाजाको रमाइलो उत्सवका बीच स्थानियले बिहान भुमे देवताको पुजा गरेपछि दिउँसो भुमे देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाएको जनता माविका प्रअ गुन पुनले जानकारी दिनुभयो । ‘‘लिङ्गो जुधाई प्रतियोगिता संस्कृतीसँगै हाम्रो पहिचान हो, यसलाई निरन्तरता दिन हामी लागिरहन्छौं,’’ प्रअ पुनले भन्नुभयो ।

केही वर्ष अगाडिसम्म दुई गाउँबीच प्रतिष्ठालाई बढवा दिएर लिङ्गो जुधाउने गरिने भए पनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिष्पर्धाको रुपमा लिङ्खो जुधाउने गरिएको छ । खेती किसानी गर्ने परम्परागत पेसा अङ्गालेका मगर समुदायले वन, जङ्गलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकाङ्क्षाले भुमे पूजा गर्न सुरु गरेको पाइन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here