बागलुङका पशुचौपायमा लम्पी स्किन संक्रमण

बागलुङ, १४ जेठ । बागलुङको बरेङ गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ।

बरेङ गाउँपालिकाका ६ वटै वडाका पशुचौपायामा लम्पी स्किनको संक्रमण देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख नारायण पौडेलले बताए। उनले गाउँपालिकाका करिब ३० गाई र गोरुमा लम्पी स्किनको संक्रमण देखिएको बताए।

संक्रमणका कारण एक गाई र एक गोरु मरेको पशु सेवा शाखाका प्रमुख पौडेलले बताए। ‘लम्पी स्किन रोगको संक्रमण भैसीमा देखिएको छैन,’ प्रमुख पौडेलले भने,‘गाई र गोरुमा देखिएको रोगको कारण बरेङमा एक गाई र एक गोरु मरेका छन्।’

रोगग्रस्त क्षेत्रमा नियमित अनुगमन, उपचार लगायतका कार्य भइरहेको प्रमुख पौडेलले बताए। गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमण देखिएका व्यावसायिक फार्ममा जैविक सुरक्षा अपनाउनर रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वारेन्टीनमा राखेर उपचार गर्न कृषकहरूलाई अनुरोध गरेको छ।

प्रमुख पौडेलले रोगसँग मिल्दोजुल्दो लक्षण देखापरेमा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गर्दै अन्य ठाउँमा पशु आयात तथा निर्यात नगर्न अनुरोध गरे।

यस वर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको संक्रमण देखिन थालेको थियो। लम्पी स्किन रोग लागेका गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखिने पशु चिकित्सकको भनाइ छ। लम्पी स्किन रोग बागलुङको बडिगाड गाउँपालिकामा पनिदेखा परेको थियो।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here