निःशुल्क लोकसेवा कक्षा सकियो

बागलुङ, ६ जेठ । बागलुङको कोठेखोला गाउँपालिका–३ धम्जाले संचालन गरेको निःशुल्क लोकसेवा कक्षा शुक्रबार सम्पन्न भएको छ । युवालाई स्वदेशमै रोजगारसँग जोडिन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले ४५ दिनसम्म संचालन भएको तयारी लोकसेवा तथा शिक्षक सेवा आयोगको परीक्षा दिन चाहने कक्षामा वडाका विपन्न परिवारका २२ जनाबढी युवाहरुले सहभागिता जनाएका थिए ।

तयारी कक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’ले तयारी कक्षामा सहभागीहरुलाई यो अवसरको राम्रोसँग सदुपयोग गरेर त्यहि अनुसार आफुले बढिभन्दा बढी तयारी गरेर लोकसेवामा नाम निकाल्न आग्रह गर्नुभयो । उहाँले तालिमको प्रमाणपत्र जस्तै निजामती कर्मचारीको रुपमा नियुक्ती पत्र दिन पाइयोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष थापाले योजना बनाएर पुरा गर्न लागेमा निजामती कर्मचारीमा नियुक्त हुन सकिने बताउँदै कक्षा लिएका युवाहरुले जुन मेहेनतका साथ लागेको कारण निजामती कर्मचारीको रुपमा देख्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउन लागेको बताउँदै त्यसमा पालिकाका विपन्न परिवारका युवाहरुलाई लोकसेवा आयोगको कक्षा संचालन गर्ने कार्यक्रम समेट्ने बताउनुभयो ।

वडा अध्यक्ष कुल बहादुर विकले वडाले कक्षा १२ उत्र्तिण गरेर सरकारीसेवामा प्रवेश गर्न चाहने विपन्न, जनजाति तथा दलित समुदायका युवाहरु छनोट गरेर लोकसेवाको खरिदा र नायव सुब्बाको पाठ्यक्रममा आधारित रहेर कक्षा सहजिकरण गरेको बताउनुभयो । ‘निजामती सेवामा धम्जाको जनशक्ति कम रहेको छ,’ वडा अध्यक्ष विकले भने,‘जनशक्ति बढाउन सहयोग पु¥याउन तालिम संचालन गरेका हौं ।’

तयारी कक्षाले सरकारी सेवामा लक्षित वर्गका युवाहरुको प्रवेशमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तीन जना आफ्नै खर्च र अन्य सत्र जना वडाको खर्चमा कक्षामा सहभागी भएका छन् । ‘मेरो गाउँ दुर्गममा पर्छ’ वडाध्यक्ष विकले भन्नुभयो–‘सुगम क्षेत्रमा जस्तो तयारी कक्षा प्रसस्त नपाउनु हुँदा एकीकृत कक्षा सञ्चालन गरिएको हो ।’ उहाँले तालिमले सहभागीमा भोग लगाएकोले निजामती सेवामा प्रवेश गर्नको लागि अब सहभागीहरुले आफै तयारी गर्नुपर्ने बताउनुभयो ।

सहभागी चन्द्र श्रीसले आफु जस्ता धेरै लोकसेवाका तयारी गरिरहेका विद्यार्थीहरुलाई वडाले निशुल्क रुपमा ४५ दिने तयारी कक्षा सन्चालन गरेर बाटो देखाउने काम गरेकोमा असाध्यै खुशी लागेको बताउनुभयो । यो कक्षामा सिकेका कुराहरुलाई आफुले रातदिन मेहनत गरेर एकदिन आवश्य पनि सफलता चुम्ने बताउनुभयो । श्रीस कक्षाको उत्कृष्ट विद्यार्थी घोषित हुनुभएको थियो ।

समापन कार्यक्रममा काठेखोला–३ धम्जाका वडा सदस्य प्रेम बहादुर श्रीसले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठेखोला गाउँपालिकाले लोक सेवा कक्षा सञ्चालनको लागि वडा कार्यालयलाई दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग र हेमन्त मल्टि एजुकेशनल सर्भिस प्रा.लि. बागलुङको संयोजनमा सम्पन्न भएको तालिमको समापन कार्यक्रमको अध्यक्षता धम्जाका वडा अध्यक्ष कुल बहादुर विक र संचालन प्रा.लि.का संचालक प्रेम शर्माले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here