प्रथम जेसिज कपको उपाधि श्री मेहर गणलाई

बागलुङ, २२ बैशाख । प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेहरगण घोडाबाधे व्यारेकले जितेको छ ।

बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार श्री मेहर गणले बीर गोर्खाली युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । श्री मेहरलाई उपाधि दिलाउनको लागि खेलको ३० औं मिनेटमा कप्तान पितम्बर घर्ती मगरले गरेको गोल नै निर्णय बन्यो । बीर गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडी बढेको अवस्थामा प्रकाश निरौलाले हेडिङ मार्फत दिएको पासलाई कप्तान घर्तीले गोल गरेको थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको बीर गोर्खालीले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो ।

उपाधि जितेको श्री मेहर गणले नगद १ लाख ५० हजार र उपविजेता बीर गोर्खाली युवा क्लबले ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा बिधागत पुरस्कार तर्फ बीर गोर्खालीका खेलाडीहरुको बर्चश्व रह्यो । प्रतियोगिताको बीर गोर्खालीका कप्तान संजिव अर्याल सर्वोत्कृष्ट खेलाडी, सशिल थापा मगर उत्कृष्ट स्ट्राइकर, एलेक्स उत्कृष्ट मिडफिल्डर, जोन उत्कृष्ट डिफेन्डर, श्री मेहर गणका विप्लप गुरुङ उत्कृष्ट गोलरक्षक बन्दै पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगितामा ५ गोल गरेका चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका जोन ग्लोरी सर्वाधिक गोलकर्ता बनेभने कालिपुल युनाइटेड क्लब बेनीले अनुशासित टिमको उपाधि जित्यो । यस्तै क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समिति विरुद्ध श्री मेहर गणका विकास मगरले गरेको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल बन्दै पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)का ११ टिमको सहभागिता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here