
बागलुङ, २० बैशाख । बागलुङमा जारी प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगितामा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लब र बिर गोर्खाली युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
जेसिज बागलुङले आयोजना गरेको प्रतियोगिताको बुधबार भएको क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबले नव उत्साहि क्लबलाई ६–० गोल गोलअन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । चिल्ड्रेन लाईफको लागि ग्लोरीले ह्याट्रिक सहित चार गोल गरेभने मोहन थापा र दिपेश मल्ल ठकुरीले १–१ गोल गरेका थिए ।
यस्तै बुधबारको दोस्रो खेलमा बिर गोर्खाली युथ क्लबले गुठी युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । बिर गोर्खालीको लागि सुशिल थापाले २ र अन्जन चौधरीले १ गोल गरेका थिए ।
प्रतियोगितामा मंगलबार श्री मेयर गण (आर्मी) बागलुङ र कालीपुल युनाइटेड सेमिफाइनलमा प्रवेश गरी सकेका छन् । बिहिबार सेमिफाइनलका खेलहरु हुने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले बताए । बिहिबार पहिलो सेमिफाइनलमा श्री मेयर गण विरुद्ध कालीपुल युनाइटेड र दोस्रो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफ विरुद्ध बिर गोर्खालीका विच हुने मुल संयोजक खत्रीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुलसंयोजक खत्रीले बताए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २२ गते हुनेछ ।