टेलरिङ व्यवसायी परियार दम्पती माथि धारिलो हतियार प्रहार

बागलुङ, १५ बैशाख । बागलुङ नगरपालिका–२ हल्लनचोकमा टेलरिङ व्यवसाय संचालन गर्दै आएका जनप्रिय टेलरिङका प्रोपाइटर सुजन परियार र उनकी श्रीमती सरस्वती खड्का परियार माथि बिहिबार विहान धारिलो हतियार प्रहार भएको छ ।

कपडा सिलाईको विषयमा विवाद भएपछि बिहिबार विहान साढे नौ बजेको समयमा परियार दम्पती माथि बानपा–३ का सुराग शाक्य र आशिष शाक्यले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । सुजनको दयाँ र सरस्वतीको बायाँ हातमा चोट लागेको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार गरिएको थियो ।

टेलरिङ व्यवसायी परियार दम्पती आक्रमण गरेको आरोपमा सुराग र आशिष शाक्यलाई बिहिबार नै पक्राउ गरि घटनाको विषयमा अनुसन्धान थालिएको प्रनाउ केसीले बताए ।

बागलुङ टेलर्स व्यवसायी सँघले प्रेस विज्ञप्ती निकाली विरोध जनाएको छ । संघका अध्यक्ष प्रेम कुमारी श्रीसले बिहिबार एक विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेकी छन् । श्रीसले विज्ञप्ती मार्फत दिनदाहाडै पसलमा आएर आक्रमण गर्नेलाई कार्वाहीको दायरामा ल्याउन र सम्पूर्ण व्यवसायीको मुलुकमा स्वतन्त्र व्यवसाय गरेर खान पाउने हकको प्रत्याभूति नगराएसम्म बागलुङ बजारका सम्पूर्ण टेलर्स व्यवसायीहरुले आफ्ना पसल बन्द गर्ने बताएकी छन् । उनले घटनाका दोषीलाई कार्वाही अघि बढाउन सम्बन्धित निकायलाई अपिल समेत गरेकी छन् ।

घटनामा घाईते भएकी सरस्वती खड्का परियार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङकी अध्यक्ष समेत हुन् । घटनाको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले बिहिबार प्रेस विज्ञप्ती जारी गिरेर घाइते परियार दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here