
काठमाडौं, १४ बैशाख । स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनमा कतारमाथि नेपालले सानदान जित निकालेको छ । नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।
कतारका प्रमुख ब्याटर इमाल लियानागेलाई सोमपाल कामीले छैटौं ओभरको अन्तिम बलमा ६ रनमा बोल्ड आउट गरे । सन्दीप लामिछानेले ओपनर जाहिर इब्राहिमलाई फस्ट स्लिपमा आरिफ शेखबाट १५ रनमा क्याच गराए ।
उनले २३ बलमा ३ चौका प्रहार गरे । सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९।४ ओभरमा ३२-४ को कमजोर अवस्थामा पुगेको थियो । सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७-५ को अवस्थामा पुगेको थियो ।
सन्दीपको १३ औं ओभरको चौथो बलमा कप्तान मोहम्मद रिजलान आसिफ शेखबाट स्टम्पिङ आउट भएपछि संकटमा पुगेको छ । त्यसपछिका ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । आमिर फारुक १४ र वलिद ३ रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपाल १५७ रनमै अलआउट भएको थियो । पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बन्यो ।
नेपालका कुनै पनि ब्याट्सयानले ४० भन्दा माथिको स्कोर बनाउन सकेनन् । १० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।
उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।
आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।
कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदले १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए ।
नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।
समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । हङकङ र कुवेतबीचकोा खेल मुलपानी क्रिकेट मैदानमा जारी छ ।
उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।











