एसीसी प्रिमियर कप: नेपालको दोस्रो जित

काठमाडौं, ८ बैशाख । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे ।

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।

 

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । अकिब ओमानका प्रमुख ब्याटर हुन् । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन् । पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको थियो ।

ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन । सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । छैटौं विकेटका लागि सन्दीप र नदिमले ९६ रनको सानदार साझेदारी गर्दै झिनो जितको आशा कायम राखेका थिए । तर दीपेन्द्रसिंह ऐरीले ४२ औं ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।

ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो करिअरको १ सय विकेट पूरा गरे । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । उनले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानको नाममा ४४ खेलमा १ सय विकेट पूरा गरेको कीर्तिमान थियो ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । आयन खान २९, फैयज बट १९ र कलिमुल्लाह २ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललितले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।

त्रिवि मैदानमा भएको खेलमा नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले खाता खोल्न नसकि आउट भएपछि नेपाललाई कप्तान रोहित पौडेल र भिम कार्कीले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ५२ रनको साझेदारी भयो । आउट हुनुअघि रोहितले ३४ बलमा २ चौकाको मद्दतले २३ रन बनाएका थिए ।

उच्च फर्ममा रहेका भीमले ५६ बलमा एक छक्का र ४ चौकासहित ३३ रन जोडे । १८ रनको अन्तरालमा उनीहरु दुवै आउट भएपछि दवावमा परेको नेपाललाई कुशल मल्लले उद्दार गरे । उनले ओमानमाथि काउन्टर अट्याक गर्दै नेपाललाई खेलमा फर्काए ।

कुशलले एकदिवसीयमा आफ्नो पहिलो शतक पुरा गरेका छन्, त्यो पनि केवल ५९ रनमा । उनको विष्फोटक इनिङमा १० छक्का र ९ चौका सामेल थिए । कुशलले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान आरिफ शेखसँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट ।

आरिफपछि सातौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीको ब्याट आज चलेन । उनी १० बलमा ७ रन बनाएर आउट भएपछि क्रिजमा आए सोमपाल कामी । कुशल र सोमपालबीच ४९ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । ४०ं।४ ओभरमा नेपालले २२१ बनाउँदा कुशल १०८ रनको निजी स्कोरमा पेभिलियन फर्किए ।

कुशल आउट भएपछि नेपालको ब्याटिङ फेरि दवावमा परेको थियो । तर, सोमपाल कामीले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई अहिलेसम्मकै उच्च योगफलमा पुर्याए । उनलाई दशौं नम्बरमा आएका करण केसीले साथ दिए । उनीहरुबीच नवौं विकेटका लागि ६१ रनको साझेदारी भएको थियो ।

सोमपालले ४८ बलमा ६३ रन बनाएर अविजित रहे । उनको इनिङमा ९ चौका सामेल थिए । यस्तै करणले एक छक्का र तीन चौकासहित १५ बलमा २९ रन बनाएर अविजित रहे ।

ओमानका आयन खानले ५ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह,जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here