
म्याग्दी, ६ बैशाख । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मंगलवार साँझ मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको प्रमुख रानाभाटले बताउनुभयो । उहाँले चितुवाको उमेर दुई वर्षको र करिब ४० किलोको रहेको अनुमान गरिएको बताउनुभयो ।
पछिल्लो समय वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको र बस्ती तिर झरेको प्रमुख रानाभाटले बताउनुभयो ।
मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।








