१ लाख राशिको बागलुङ गोल्ड कप फुटबल सुरु

बागलुङ, १ माघ
बगलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा शनिबारदेखि १ लाख राशिको बागलुङ गोल्ड कप फुटबल–२०७३ बाङ्गेचौर खेलमैदानमा सुरु भएको छ ।
दलित युवा सञ्जाल बागलुङको आयोजनामा सुरुभएको प्रतियोगिताको पहिलो खेलमा विष्णु पादुका युवा कल्ब हेम्जाले खनियाँघाट युवा क्वल बागलुङलाई ५–० गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको दाबेदारको रुपमा रहेको विष्णुपादुका युवा क्लबले खनियाँघाट युवा क्लबलाई खेल अवधिभर निकै दबाबमा राखेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा अशोक नेपालीको गोलबाट अग्रता लिएको विष्णुपादुकाले खेलको ४० मिनेटमा विश्व गुरुङको गोलबाट अग्रता दोब्बर पारेको थियो । हाफमा गोलको धेरै अवसरहरु खनियाँ घाटका गोलकिपरले विफल बनाएका थिए ।
पहिलो हाफमा २ गोलमात्र गरेको विष्णुपादुकाले दोस्रोहाफमा पनि खेल आफ्नो पक्षमा राख्दै ३ गोल गरेको थियो । खेलको ४५ मिनेटमा विश्व गुरुङले आफ्नो दोस्रो तथा टिमको लागि तेस्रो गोलगरेका थिएभने समिर कार्कीले ५२ मिनेटमा गोल गरेका थिए । यस्तै उत्सव थापाले ५५ मिनेटमा गोलगरेपछि विष्णुपादुका पहिलो खेल सहज रुपमा जितेको छ ।
शनिबारदेखि शुरु भएको प्रतियोगिता बागलुङ, पर्वत, म्याग्दी सहित कास्कीबाट समेत गरी १३ समूहले सहभागिता जनाएका छन् । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले गरेका थिए । उद्घाटनपछि बोल्दै अध्यक्ष परियारले जिल्लामा खेलक्षेत्रमा अझैपनि कुनै निकायले लगानी नगरेको बताउँदै खेलक्षेत्रमा पनि लगानी गर्नको लागि अनुरोध गरेका थिए । उनले खेलकुदले शारिरिक मात्र नभई समाजिक विकासमा समेत टेवा पु¥याउने बताए ।
उक्त अवसरमा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा र गायक तथा मोडल लक्ष्मण श्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने खेल संचालनको बारेमा दलित युवा संजालका सचिव राहुल बोहोराले प्रकाश पारेका थिए ।
दलित युवा संजाल बागलुङका अध्यक्ष राजकुमार बोसेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटसत्रको स्वागत सहसचिव हरि रुचाल र संचालन प्रेस संयोजक रामकृष्ण बोहोराले गरेका थिए ।
आईतबार जम्ली निर्माण सेवा र वीर गोर्खाली तथा फ्युचर ब्राईटर स्पोर्ट क्लब र नयाँ शक्ति विद्यार्थी युनियनबीच खेल हुने आयोजकले जनाएको छ ।