
काठमाडौं, १७ चैत । नेपालले लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न अनौपचारिक फाइनल खेलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले गोल गरे ।
खेलको सुरुवातमै १–० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । लाओसका लागि फोन्साक सिसाभाथले अग्रता दिलाएपछि नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।
खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई बीट गर्दै उनले सुन्दर गोल गरेका थिए ।
२४ अौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।
६९ औं मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।
खेलको ८७ औं मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।










