
बागलुङ, ५ चैत । सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत मनाङ मस्याङ्दी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा मनाङले नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्यो ।
३४ औं मिनेटमा एपिएफले अर्मान्ड बेडमको गोलमा अग्रता लियो । नविन लामाको क्रसमा अर्मान्डको हेडर गोलमा परिणत भएको थियो ।
५३ अरुौं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । सुमित श्रेष्ठको क्रसमा कमल थापाले हाफ भलीमा सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । कमलको ए डिभिजन लिगमा यो पहिलो गोल हो ।
५८ औं मिनेटमा मनाङको अग्रता लिने प्रयासमा मान बहादुर रानामगर बाधक बने । कमलको कर्नरमा आशिष गुरुङको हेडरलाई मानले गोललाइनबाट क्लियर गरे ।
७२ औं मिनेटमा मनाङले अग्रता लियो । वैकल्पिक खेलाडी साइदजामोल दाभ्लात्जोनोभले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत गरे ।
मनाङका कमल खेलको म्यान अफ दी म्याच बन्दै रु. १० हजार प्राप्त गरे ।
यस जितसँगै मनाङ ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।