सहकारीका समस्या समाधान गर्न सदस्यसंगै हातेमालो गरौंः उपसभामुख थापा

बागलुङ, २० फागुन ।
गण्डकी प्रदेशसभाका उप–सभामुख बिना कुमारी थापाले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउन सहकारीकर्मीहरुलाई आव्हान गर्नुभएको छ ।
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा शनिबार आयोजना गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक एक दिने गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो
‘सहकारी सदस्यहरुको हो, सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो, सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रै सहकारीलाई जोगाउन सकिन्छ,’ उपसभामुख थापाले भन्नुभयो–‘सहकारीलाई सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ ।’
उपसभामुख थापाले सहकारीमा सुशासन कायम गर्नका लागि सहकारी ऐन कानुनको पालना, कार्यविधि बनाएर नीतिगत रुपमा संस्था सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले राज्यका तर्फबाट सहकारी प्रवद्र्धनका लागि गर्नुपर्ने विषयमा समन्वय गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राज कुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव चुडामणी आचार्य र धन्यवाद मन्तव्य उपाध्यक्ष शिवकला थापाले व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here