
बागलुङ, १२ फागुन । नेपालका स्पिनर बलर सुवास भण्डारीले आईसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध डेब्यू विकेट लिएका छन् ।
नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले १६ ओभरमा ३ विकेट गुमाउँदै ३७ रन बनाएको छ । सिंगापुरका अभुदय छाजेर ३९ बलमा २ चौकासहित १३ रन र सिद्धान्त श्रीकन्त ५ रनमा क्रिजमा छन् ।
स्पिनर सुवासले १३ ओभरको तेस्रो बलमा सिंगापुरका महियु भाटियालाई ३ रनमा हेमन्त धामीबाट क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । सुवासको यो डेब्यू विकेट हो । गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने सुवास बागलुङको काठेखोला गाउँपालिका–१ पालाका हुन् ।
नेपालका लागि पहिलो विकेट हेम्नत धामीले लिएका थिए । हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट शून्यमा क्याच गर्दै डेब्यू विकेट लिएका थिए । सिंगापुरका ओपनर अर्जुन नागपल ३५ बलमा २ चौकासहित १४ रनमा रन आउट भए ।
त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।
नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरेका थिए ।
सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभुदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।










