
बागलुङ, बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयले दृष्टिबिहिन शिक्षकलाई हाजिरी लगाउनमा रोक लगाएको छ । बागलुङ नगरपालिकाले काजमा सुरुवा गरेर पठाएका प्रावि तृतीय श्रेणीका शिक्षक विकल थापालाई विद्यालयका प्रधानाध्यापक शान्तमणी ढकालले हाजिरी लगाउन रोक लगाएका हुन् ।
नगरपालिकाले उक्त विद्यालयमा काजमा सुरुवा गरेको दुई महिना वित्न लाग्ला समेत प्रधानाध्यापक ढकालले हाजिरी लगाउन नदिएको शिक्षक थापाले गुनासो गरे । थापाले बिहिबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले आफुलाई सहजताको लागि विद्यामन्दिरमा काजमा सुरुवा गरेपनि प्रधानाध्यापकले हाजिरी गर्न नदिएको बताए ।
२०७५ फागुन २६ गते प्रावि तह विशेष (दृष्टिबिहिन) दरबन्दीमा नियुक्त भएका थापाले बानपा–१ रामरेखाको रामरेखा आधारभूत विद्यालयमा अध्यापन गराई रहेका थिए । बानपा–३ निवासी थापा घरदेखि विद्यालय जान–आउन टाढा भएकोले बजारमै रहेको विद्यामन्दिरमा सरुवाको लागि बागलुङ नगरपालिकामा निवेदन दिए । पौष १ गते नगरशिक्षा समितिले काज सरुवाको निर्णय गरेको थियो । थापालाई नगर शिक्षा शाखाले पौष ६ गते विद्यामन्दिरमा सरुवाको पत्र थमायो । थापालाई रामरेखा आधारभूत विद्यालयले पौष ७ गते सरुवाको रमाना समेत दिएको छ ।
थापाले सरुवाको पत्र लिएर विद्यामन्दिरमा पुगेपछि प्रधानाध्यापक ढकालले पत्र नबुझ्ने र जहाँबाट ल्याएको हो त्यही लगेर जान भनेको बताए । ‘शहरी भुसिया कुकुर र सवारी पार्किङ्गको कारण घरदेखि विद्यालय (रामरेखा आधारभूत) जान गाह्रो भएर नगरप्रमुख र शिक्षा समितिमा जानकारी गराएपछि सरुवा भएको हो,’ शिक्षक थापाले भने,‘नगर शिक्षा शाखाबाट सरुवा र रामरेखा आविबाट रमानाको पत्र लिएर विद्यालय जाँदा प्रअले जहाँबाट ल्याएको हो त्यही लगेर जाउँ भन्नुभयो ।’
थापाले प्रधानाध्यापकले भौतिक संरचनाको कारण विद्यालयमा गाह्रो हुने भन्दै दृष्टिबिहिनहरुले अध्यायन गर्ने बानपा–१४ को दृष्टिबिहिन विद्यालयमा वा घर नजिकको धौलागिरी विरेन्द्र माध्यमिक विद्यालयमा जान सुझाव दिएको बताए । ‘प्रअ ढकालले अन्य विद्यालयमा जाउँ यहाँ भौतिक संरचनाले हुँदैन भन्नु हुन्छ,’ थापाले भने,‘राज्यले तोकेर पठाएपछि अन्यत्र जाँ भन्न मिल्छ ।

विद्यालयका प्रधानाध्यापकले हाजिरी नगराएपनि थापा दैनिक विद्यालयमा जाने गरेका छन् । ‘सरुवा पत्र पाएपछि दैनिक विद्यालयमा जाने गरेको छु,’ थापाले भने,‘ विद्यालयमा गएको पहिलो दिन विद्यार्थीहरुको सहयोगमा शौचालय र खानेपानीको धारामा पुगे, अहिले आफै र अहिले आफै जाने गरेको छु । प्रधानाध्यापकले भने जस्तो भौतिक संरचनाको कारण मलाई गाह्रो छैन ।’
थापाले हाजिरी गराई दिनको लागि विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयमा समेत अनुरोध गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य र बागलुङ नगरपालिका–३ का वडाअध्यक्ष शनि केसीले हाजिरी गराउनको लागि प्रधानाध्यापकलाई पटक–पटक भन्दा पनि उहाँले कुनै हालतमा हाजिरी नगराउने बताएको थापाको भनाई छ ।
विद्यालयमा हाजिरी लगाउन नदिएपछि थापाले राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश, बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा हाजिरीका लागि पहल गरिदिन निवेदन दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले शिक्षक थापालाई हाजिरी गराउन आफुले पहल गरिरहेको बताए । ‘पूर्ण रुपमा कार्यान्वयन गर्न सहमत छु,’ विव्यस अध्यक्ष शाक्यले भने,‘प्रधानाध्यापकलाई बैठक बोलाउन भन्दा बोलाउनु भएको छैन । छिट्टै बैठक बसेर यसको निर्णय गछौं ।’
यता, विद्यालयका प्रधानाध्यापक शान्तमणी ढकालले भने विद्यालयमा दरबन्दी नभएको र नगरपालिकाले सरुवा गरेर पठाएको आफुलाई थाहा नभएको बताए । ‘नगर शिक्षा समितिले पठाएको मलाई थाहा छैन,’ प्रअ ढकालले भने,‘विद्यालयमा दृष्टिबिहिनको दरबन्दी छैन । मैले इलिगल काम गर्दिन । लिग लिग काम गर्छु । उहाँ रामरेखा आधारभूत विद्यालयको शिक्षक हो ।’ ढकालले विकललाई हाजिरी नगराउने र जेल जान तयार रहेको समेत बताए । ‘मलाई जेल लैजाने कुरा छ,’ ढकालले भने,‘मलाई जेल लैजानुहोला ।’
विद्यालयको भौतिक संरचना पनि दृष्टिबिहीन मैत्री नभएकोले विस्तारै अपाङ्गमैत्री बनाएपछि दुई वर्षपछि उहाँलाई राख्न सकिने प्रअ ढकाल बताउँछन् । प्रधानाध्यापक ढकालले विद्यामन्दिरमा विद्यार्थीहरु धेरै भएकोले लडाई हुन सक्ने र दृष्टिबिहिन थापा अपहेलित हुन सक्ने बताए । ‘विद्यालयमा उनी अपहेलित हुनसक्छन्,’प्रअ ढकालले भने,‘धेरै विद्यार्थीहरु भएकोले लडाईभिडाइ हुन्छ । उनलाई गाह्रो हुन्छ ।’
उनले थापा दृष्टिबिहिन भएकाले बलेवामा रहेको दृष्टिबिहीन अध्ययनरत विद्यालयमा जानुपर्ने समेत बताए । ‘उहाँ दृष्टिबिहीन हो,’प्रअ ढकालले भने,‘बलेवामा दृष्टिबिहीन अध्ययनरत विद्यालय छ । उहाँ त्यहाँ हो जानुपर्ने । हामलाई पनि दृष्टिबिहीन दरबन्दी भएको भए हुन्थ्यो छैन ।’










