चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि बिहुँकोट लालिगुराँसलाई

बागलुङ, २९ माघ । बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

काठेखोला गाँउपालिकाको आयोजना र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ व्यवस्थापन तथा निर्देशन समितिको संचालन तथा व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगिताको उपाधि बिहुँकोट लालिगुराँस इङ्गलिस बोर्डिङ स्कुल काठेखोला–५ बिहुँले चुमेको छ । बिहुँकोट लालिगुराँसले १० स्वर्ण, ५ रजल पदक जित्दै उपाधि जितेको हो ।

यस्तै रेश नुनथला माध्यमिक विद्यालय काठेखोला गाउँपालिका–७ रेशले ९ स्वर्ण र ३ रजत पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो । ८ स्वर्ण र ८ रजत जितेको भीमसेन माध्यमिक विद्यालय काठेखोला गाउँपालिका–६ विहुँ तेस्रो, ५ स्वर्ण र ६ रजत पदक जितेको अमर माध्यमिक विद्यालय काठेखोला–५ विहुँ चौथो र २ स्वर्ण र ३ रजत पदक जितेको जनकल्याण माध्यमिक विद्यालय काठेखोला–२ भीमापोखराले पाँचौं स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताको मुख्य आर्कषणको रुपमा रहेको छात्र भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय काठेखोला–२लाई पराजित गर्दै भीमसेन माध्यमिक विद्यालय काठेखोला–५ प्रथम भएको छ । यस्तै छात्रा भलिबलमा लक्ष्मी माध्यमिक विद्यालय काठेखोला–३ धम्जा प्रथम र लेखानी माध्यमिक विद्यालय काठेखोला–८ लेखानी द्धितिय भएका छन् ।

प्रतियोगितामा काठेखोला गाँउपालिकाका ११ माध्यमिक र १ आधारभूत गरी १२ विद्यालयको सहभागीता रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विकले बताउनुभयो ।

प्रतियोगिताका विजयी टिम र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विकले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा संयोजक विकले गाउँपालिकाले छिट्टै नै दोस्रो अध्यक्ष कप भलिबल एवम् साङ्गेतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम (स्वर्ण विजेता) हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । बिहिबार र शुक्रबार भएको प्रतियोगिताको उद्घाटन बिहिबार गाउँपालिका अध्यक्ष राजु थापाले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले खेलकुदका लागि काठेखोला उर्वरभूमि रहेको बताउँदै खेलकुद विकासका लागि खेल प्रतिक्षकहरुको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले विकास भनेको सडक र भवन मात्रै हो भन्ने मानसिकताबाट माथी उठेर गाउँपालिकाको चौतर्फी विकासका लागि पालिकाले आफ्ना कदमहरु अघि बढाईरहेको बताउनुभयो । ‘खेलकुदको विकास लागि धेरै कोणबाट सोचिरहेका छौं, खेलकुदका लागि काठेखोला उर्वरभूमी हो’ थापाले भन्नुभयो,‘स्वस्फूर्त अभ्यासले जे–जति प्रगति भैरहेको छ त्यसमा सन्तुष्ट छैनौं, गाउँपालिका तहबाटै खेल प्रशिक्षकहरु छिट्टै नियुक्त गर्छौं ।’

थापाले यस प्रकारका प्रतियोगिताहरुले गाँउपालिका भित्र लुकेका विभिन्न विद्यार्थीहरुको प्रतिभा, सिर्जनाको विकासको लागि सहयोग पुग्ने बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले खेलकुद बालबालिका र युवापुस्ताको लागि अत्यावश्यक विधा भएको बताउनुभयो । युवा र बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुदको विकास र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, भीमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेल र समितिका सदस्य कृष्ण कंडेलले मन्तव्य व्यक्त गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विकले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here