
बागलुङ, १६ माघ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर थापा र उनकी श्रीमती उजेली थापाको उपचारका लागि गुहेली सञ्चार सहकारी संस्था लि.को पहलमा आर्थिक सङ्कलन गरी सहयोग गरेको छ । सहकारीले उपचार खर्च सहयोग अभियानमा संस्थाका सदस्यहरु छविलाल थापा, टिका कुमारी थापा, दिलमाया थापा र रिता मल्लको पहलमा जम्मा गरेको रकम रु १ लाख २१ हजार ७ सय रुपैयाँ थापा दम्पत्तीको परिवारलाई हस्तान्त्रण गरेको हो ।
आफ्नै घरको सिँडीबाट लडेर घाईते भएका हर्कबहादुर थापाको करङ भाँचीएर गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने उच्च रक्तचाप पछि टाउकोको शल्यकृया गरेकी उजेली थापाको काठमाण्डौको त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ । लामो समयदेखि देशका ठुला शहरका अस्पतालहरुमा उपचार गराईरहेका थापा दम्पत्तीको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको थियो ।
मध्यम परिवारका थापा दम्पत्ती दुवैजना गत मंसिर दोस्रो सातादेखि अस्पतालको शैयामा छन् । परिवारले मात्रै उपचार खर्च जुटाउन नसकेपछि गुहेली संचार सहकारी संस्था लि. ले उनीहरुलाई बचाउनका लागि आर्थिक सहयोग संकलन अभियान चलाएको थियो । देश बिदेशमा रहेका सहयोग दाताहरुबाट प्राप्त भएको सहयोग रकम एकमुष्ट थापाकी नातीनी रोशनी थापा कार्कीलाई उपलव्ध गराईएको सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले बताउनु भयो ।