छोरा–बुहारी अस्ट्रेलिया पठाइन्, आफू घर पुगिनन् खड्का

बागलुङ, २ माघ । बागलुङ नगरपालिका–१ कि सीता कुमारी खड्काले शनिबार राति खुसीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइ गरिन्।  आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन्।  आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा उनको पनि निधन भयो।

छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ।  छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए।

विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए। छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बिदाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले काटिदिएको टिकटमा विमानबाट पोखरा जाँदै थिइन्।

आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए।  ‘माइजू भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो,’ लामिछानेले भने, ‘उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्।  यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुखी बनाएको छ। ’ 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here