काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना

पोखरा, १ माघ । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here