
बागलुङ, ३ पौष । काठेखोला गाउँपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु हुने भएको छ ।
काठेखोला गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बागलुङले समन्वयमा आजदेखि अभियान संचालन गर्न लागेको हो । अभियान संचालनको लागि शुक्रबार पालिकामा राष्ट्रिय परिचयपत्र अभियान सम्बन्धी स्थानीयस्तरमा अन्तरक्रिया तथा रुजु अधिकारी सम्बन्धी तालिम संचालन सम्पन्न गरिएको छ ।
अभियान आजदेखि वडा नम्बर ५ र ६ बाट सुरुवात हुने गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले अभियान संचालनको लागि ६ जना कम्प्युटर अपरेटर वडामा खटाइसकिएको बताउनुभयो ।
अन्तरक्रिया उद्घाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष थापाले काठेखोला गाउँपालिकाद्वारा पालिकाका ८ ओटै वडाहरुमा अभियान संचालन गरिने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङबाट राष्ट्रिय परिचयपत्र वितण भइरहेको र त्यसको महत्वको बारेमा जानकारी गराएको थियो ।
काठेखोला गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बागलुङको सहजिकरणमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, पर्यटन अभियन्ता कृष्ण केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नाव सुब्बा लक्ष्मण पौडेलले कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख मनोज कार्कीले गर्नुभएको थियो ।










