
बागलुङ, २९ मंसिर । नेपाली सेनाको श्रीमेहर गण बागलुङले एक हप्ते वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बागलुङको काठेखोला गाउँपालिका–६ उपल्लो बिहुँ स्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित बिहुँकोट धार्मिक महोत्सव स्थलमा सेनाले शिविर सञ्चालन गरेको हो ।
सात दिने धार्मिक महोत्सवमा आएका त्रिथालु भक्तजन तथा अवलोकनकर्ताको स्वास्थ्यलाई ख्यालमा राखेर शिविर आयोजना गरेको नेपाली सेना श्रीमेहर गण घोडाबाँधेका प्रमुख सेनानी गणपति देवभक्त माडी श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न स्थानबाट आउनु भएका विरामी भक्तजनकोे निःशुल्क स्वास्थोपचार तथा औषधी वितरण गरिएको थियो ।
शिविरबाट सामान्य प्रकृतिका २५८ जना पुरुष, ३५३ जना महिला ९८ जना बालबालिका तथा राईट ह्यान्ड सेल्युलाइटिस, फरेन बडी ईन राईट नसट्रिल्स, हाइपोग्लाइसेमिक एपिसोड, सिनपोकल एट्याक जस्ता केही जटिल प्रकृतिका रोगका विरामीहरु गरी जम्मा ७०९ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।
गम्भिर प्रकृतिका रोगहरूको थप उपचारको लागि थप उपचारको लागि रेफर गरिएको गणपति श्रेष्ठको भनाई छ । महोत्सवमा श्री श्रीमेहर गणले हेलिप्याड निर्माण लगायत अन्य व्यवस्थापकीय सहयोग गरेको थियो । शिविरमा नेपाली सेनाका डाक्टर अधिकृत सहितको श्री नम्बर २३ फिल््ड एम्बुलेन्स गुल्म, काठेखोला गाउँपालिका स्वास्थ्य शाखा, बाग्लुङ नगरपालिकाकोसमेत सहभागिता थियो ।
जनहित कार्यले आमजनमानसमा नेपाली सेनाप्रति सकारात्मक सन्देश प्रवाह भइ समग्रमा नागरिक सैनिक सम्बन्ध थप प्रगाढ बनाउन थप टेवा पुगेको गणपति श्रेष्ठको भनाई छ । द्वन्द्वकालिन समय दुई दशक अघि विस्थापित भएको गुरुकुल पुनःस्थापनाको उद्देश्यले त्रिपुरेश्वसर धाममहादेव मन्दिरमा अन्तर्राष्ट्रिय बिहुँकोट समाज र त्रिपुरेश्वर मन्दिर व्यवस्थापन समितिले महोत्सव आयोजना गरेको समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो ।










