
बागलुङ, २० मंसिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलबारदेखि शुरु भएको छ ।
६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको पहिलो कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सम्पन्न भएको हो ।
रेश सेवा केन्द्र अन्तरतका शेयर सदस्यहरुको सहभागिता रहेको साधारणसभामा सहकारीमा सदस्यको भूमिका, आयआर्जन र वचतका लागि सहकारी र सदस्यबीचको सम्बन्ध, वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
साधारणसभाको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडा अध्यक्ष प्रेम लमछिानेले सहकारी मार्फत सञ्चालित विभिन्न मिडियाले कृषकहरुको प्रर्बद्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको बताउदै सहकारी संस्थाको सञ्चार र आर्थिक क्षेत्रको प्रगतीका लागि शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभामा जनप्रतिनिधि वडा सदस्य चित्र कुमारी थापा शारदा, संस्थाका सल्लाहकार रुद्र बहादुर महत, रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापा, रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव ललिता थापाले संस्थाको प्रगति प्रतिवेदन र सम्पादक राम बहादुर जिसीले समग्र अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो ।
संस्थाले सञ्चालन गरेको पेन्सन कोषबाट ७० वर्ष पुरा भएका जेष्ठ शेयर सदस्य रन बहादुर जिसी, पूर्ण बहादुर कार्की, नन्द कुमारी जि.सी, अमर बहादुर सुनारलाई पेन्सन स्वरुप मासिक २ सयका दरले २ हजार ४ सय र अपाङ्गता भएका शेयर सदस्य भक्त बहादुर कुँवरलाई १ हजार अपाङ्गता भत्ता प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सहसचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।








