बस दुर्घटना : एकै घरका दुईसहित पाँच जनाको मृत्यु

रुकुमपूर्व, ६ असोज । रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका दुईसहित पाँच जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका एक छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो । लक्ष्मीका दुई वर्षीय छोरा सिजन खड्काको मृत्यु भएको हो ।

यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको छ ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । घाइते सात जनाको रुकुमपूर्व रुकुमकोट अस्पतालमै उपचार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here