
खोटाङ, श्रावण १५।आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ।
खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।
‘हामी विपद् व्यवस्थापनमा काम गर्ने निकायहरु सबै सतर्क अवस्थामा छौं,’ उनले भने।
१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका परकम्पन निकै समयसम्म आएको थियो। त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो।
यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो।










