
२७ जेठ,काठमाडाैँ । जाजरकोटको जुनीचाँदे गाँउपालिका-५ वलेबनमा आज जीप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ। यसैगरी, दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा जीपमा सवार दैलेखको गुँरास गाँउपालिका-७ की अन्दाजी ४३ वर्षीया कालिका शाही, पुतला गिरी र १९ वर्षीय दर्शन शाही रहेका छन्।
दुई जनाको घटनास्थलमा र एक जनाको उपचारकाे क्रममा गर्खाकोटमा मृत्यु भएको जुनीचाँदे गाउँपालिका-५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका विष्णुकुमार शाही, चालक टोपबहादुर थापा र समीक्षा सिंहको अवस्था गम्भीर रहेको जाजरकोट प्रहरीले जनाएको छ। अन्य घाइते पिवना शाही, लालबहादुर थापा र वीरबहादुर शाहीको अवस्था सामान्य रहेको जनाइएको छ।
लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०३४१ नम्बरको जीप आज बिहान साढे ७ बजे एक्कासि ब्रेकफेल भएर पल्टिएको इलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ।