बागलुङ, १० बैशाख । प्रदेश स्तरीय शहिद कप टि० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकेन्स क्रिकेट क्लब तनहुँले जितेको छ ।
शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बागलुङ निलोलाई ९ रनले पराजित गर्दै पेलिकेन्सले उपाधि उचालेको हो ।
पेलिकेन्स क्रिकेट क्लबले प्रस्तुत गरेको ८१ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ १६ ओभरमा ७१ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेको बागलुङका मिडलअडरका ब्याट्सम्यानले समालिएर खेल्न नसक्दा पराजित हुन पुगेको हो । एक समय ५.३ ओभरमा ४३ रनमा कुनै विकेट नगुमाएको बागलुङले थप ७ रन बनाउँदा ९ विकेट गुमाएपछि पराजित हुन पुगेको थियो । बागलुङका कप्तान अनिस जिसीले ३६ रन र जगत बहादुर छन्त्यालले नटआउट १४ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले सम्झना लायक प्रदर्शन गरेनन् । बागलुङका ५ जना व्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
फाइनल खेलको म्यान अफदी म्याच भएका पेलिकेन्सका बलर सुवास भण्डारीले ४ ओभरमा २ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । यस्तै दिपेश श्रेष्ठ र बिपिन खत्रीले २÷२ र याम क्षेत्रीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको पेलिकेन्स १७ ओभर २ बलमा ८० रनमा समेटिएको थियो ।
पेलिकेन्सको लागि सुवास कंशकारले २० रन, विदुर मगरले १२ रन र दिपेश श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
बागलुङका बलर सन्देश खड्काले ३ विकेट लिएभने दिपेन्द्र रावत, जगत बहादुर छन्त्याल, विश्व कार्कीले २/२ विकेट र सुवास खत्रीले १ विकेट लिएका थिए ।
प्रतियोगिताको उपाधि जितेको पेलिकेन्स क्रिकेट क्लब तनहुँले १ लाख १ हजार ११ रुपैयाँ प्राप्त गर्योभने उपविजेतामा चित्त बुझाएको बागलुङ निलोले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ निलोका बसिर अहमद भए । उनले १० हजार प्राप्त गरे । उनीनै प्रतियोगिताको उत्कृष्ट बलर बन्दै नगद पाँच हजार रुपैयाँ समेत प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यानले बागलुङ निलोका रविन्द्रजंग शाही भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
खेलकुद विकास समिति बागलुङ र बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा बागलुङ बजारमा बैशाख ६ गतेदेखि संचालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका ५ जिल्लाका ६ टिमको सहभागिता रहेको थियो ।