
बागलुङ, ९ बैशाख । बागलुङमा जारी प्रदेश स्तरीय शहिद कप टि२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि बागलुङ क्रिकेट र पेलिकेन्स क्रिकेट क्लब तनहुँ भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बागलुङ क्रिकेट क्लब निलोले राइजिङ क्रिकेट क्लब पोखरालाई ४५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बागलुङले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको राइजिङ १९ ओभर ४ बलमा ११४ रनमा समेटियो । राइजिङको लागि अरुन अधिकारीले ४९ रन, किरण पौडेलले २२ रन, विमल केसीले १७ रन र मिलन थापाले १५ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले सम्झना लायक प्रदर्शन गरेनन् ।
बागलुङका बलर दिपेन्द्र रावले ४, बसिर अहमद र सुवास खत्रीले २/२ र जगत बहादुर छत्त्याल र तुल बहादुर थापाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बागलुङले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । बागलुङको लागि सुवर्ण खड्काले ३९ रन, रविन्द्रजंग शाहिले २८ रन र रमेश बस्नतेले २७ रन बनाएका थिए ।
राइजिङका बलर अमृत गुरुङले ३ र कृष्ण पौडेलले २ विकेट लिए ।
यस्तै कुश्मा क्रिकेट क्लब पर्वत र पेलिकेन्स क्रिकेट क्लब तनुहँ विचको दोस्रो सेमिफाइनल खेल मौसमका कारण रद्ध हुँदा पेलिकेन्स फाइनलमा प्रवेश गरेको छ । मौसमका कारण खेल रद्ध हुँदा पेलिकेन्स अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक कमल पन्तले जानकारी दिनुभयो ।
खेलकुद विकास समिति बागलुङ र बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा बैशाख ६ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ६ टिमलाई दुई समुहमा विभाजन गरि लिगकम नकआउटको आधारमा संचालन गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल शनिबार विहान ९ बजेबाट हुने ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार ११ रुपैयाँ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको म्यान अफदी सिरिजले १० हजार र उत्कृष्ट व्याट्स म्यानले ५ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।