
बागलुङ, ८ बैशाख । उपचारको क्रममा २७ बर्षिया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत बागलुङले विजया आयुर्वेद फर्माका संचालक रमाकान्त सापकोटालाई बिहिबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासले बिहिबार थुनामा राख्न आदेश दिएको हो । उनलाई बागलुङ कारागारमा राख्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताउनुभयो ।
प्रहरीले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय सापकोटलाई चैत १५ गते बलात्कार प्रयास आरोपमा पक्राउ गरेको थियो । रक्तचाप परिक्षणको लागि फर्मामा आएकी एक विरामीलाई उपचारको बाहनामा अनुचित कार्य गर्न खोजेको भन्दै पीडितले सापकोटा विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन । सापकोटालाई प्रहरीले पक्राउ गरी २५ दिनको अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरेको छ ।