
बागलुङ, ६ बैशाख । बागलुङमा प्रदेश स्तरीय शहिद कप टि२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सूरु भएको छ ।
खेलकुद विकास समिति बागलुङ र बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन बागलुङ क्रिकेट क्लब निलो र पेलिकेन्स क्रिकेट क्लब तनहुँले विजयी सुरु गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बागलुङले स्याङ्जा क्रिकेट क्लबलाई ११५ रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागलुङ निलोले रविन्द्र र रमेशको अर्धशतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो । बागलुङको लागि रविन्द्र जंग शाहीले ४२ बलमा ८५ रन र रमेश बस्नेतले ४९ बलमा ७१ रनको योगदान दिएका थिए ।
स्याङजाका सन्दिप खत्री क्षेत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएभने टिकाराम गैरेले १ विकेट लिएका थिए ।
२२१ रनको विजयी लक्ष्य पक्ष्याएको स्याङ्जाले २० ओभरमा ९ विकेट गुमाएर १०५ रनमा समेटियो । खराव सुरुवात गरेको स्याङ्जाको लागि विपिन राज न्यौपानेले ३१ रन, सन्दिप खत्री क्षेत्रीले २५ रन र प्रविन पाण्डेले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बागलुङका बसिर अहमदले ५, जगत बहादुर छन्त्याल, दिपेन्द्र राउत र तुल बहादुर थापाले १/१ विकेट लिए ।
यस्तै आजै भएको दोस्रो खेलमा पेलिकेन्स क्रिकेट क्लब तनहुँले राइजिङ क्रिकेट क्लब पोखरालाई ४ विकेटले पराजित गरेको छ । राइजिङ क्रिकेट क्लबले दिएको १३९ रनको लक्ष्य पेलिकेन्सले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । पेलिकेन्सलाई जित दिलाउन समिर कंडेलले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै पेलिकेन्सको लागि सचिन अधिकारीले २४ बलमा नटआउट २७ रन, उत्सव श्रेष्ठले २५ रन र अनिस थापाले १३ रन बनाएका थिए ।
राइजिङ क्रिकेट क्लबका कृष्ण पौडेल र धिरज शाहीले २÷२ र अमृत गुरुङ र विमल केसीले १/१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको राइजिङ क्रिकेट क्लब पोखरा २० ओभरमा १३८ रनमा अलआउट भएको थियो । राइजिङ क्रिकेट क्लबको लागि दिपेस खत्रीले २८ बलमा ४० रन, अमृत गुरुङले २५ रन, धिरज शाहीले २१ रन र किरन पौडेलले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।
पेलिकेन्सका दिपेश श्रेष्ठ र सन्दिप गुरुङले ३÷३ र थाम क्षेत्री र सुवास भण्डारीले १/१ विकेट हात पारे ।
प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा विजयराज पन्त, दुर्गा कुँवर र खेम थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत प्रदिप जिसी र संचालन प्रतियोगिताका संयोजक कमल पन्तले गर्नुभएको थियो ।
बैशाख १० गतेसम्म संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ६ टिमलाई दुई समुहमा विभाजन गरि लिगकम नकआउटको आधारमा संचालन गरिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार ११ रुपैयाँ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको म्यान अफदी सिरिजले १० हजार र उत्कृष्ट व्याट्स म्यानले ५ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो बुधबार पहिलो खेल कुश्मा क्रिकेट क्लब कुश्मा र स्याङ्जा क्रिकेट क्लब स्याङजाका विच हुनेछ भने दोस्रो खेल बागलुङ रातो र पेलिकेन्स क्रिकेट क्लब तनहुँका विच हुनेछ ।