
बागलुङ, २५ चैत । बागलुङमा प्रदेश स्तरीय शहिद कप टि२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खेलकुद विकास समिति बागलुङ र बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा बैशाख ६ गतेदेखि १० गतेसम्म प्रदेश स्तरीय शहिद कप टि२० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहने कार्यक्रम संयोजक पन्तले बताउनुभयो । उहाँले बागलुङका २, पर्वत, कास्की, स्याङजा, तनहुका एक–एक गरि ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ नगद र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताका सम्पूर्ण खेल बाङ्गेचौर खेलमैदानमा हुने अध्यक्ष आचार्यले बताउनुभयो ।