
काठमाडौं, १७ चैत । तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । बागलुङका करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाएका बनाएका हुन् ।
२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । करणले २० औं ओभरमा ह्याट्रिक र पाँच विकेट लिँदै दुई कीर्तिमान बनाए । यसअघि नेपालबाट टि२० आईमा कुनैपनि खेलाडीले ह्याट्रिक लिन सकेका थिएनन् । पाँच विकेट पनि लिन सकेका थिएनन् ।
करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा विकेटकिपर शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नैसान पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बने ।
यसअघि नेपालबाट कुनैपनि खेलाडीले टि२० आईमा ह्याट्रिक गरेका थिएनन् । टि२० आईमा उत्कृष्ट प्रदर्शन ४ विकेट रहँदै आएको थियो । ओडिआईमा भने सोमपाल कामी र सन्दीप लामिछानेले ५ विकेट लिई सकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पुरुषतर्फ ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । सन् २०१२ मा पूर्व स्पिनर शक्ति गौचनले २०१२ को टि२० विश्वकप छनोटमा ग्लोबल छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए ।
नेपालको यो ५० औं टि२० आई खेल हो । करणले ५० औं टि२० आई खेलमा आफ्नो ५० विकेट पनि पूरा गरे । उनले पहिलो ओभरमै लेगा सियाकालाई आउट गर्दै ५० विकेट पूरा गरेका थिए । उनी सन्दीप पछि टि२० आईमा ५० विकेट लिने दोस्रो खेलाडी हुन् । करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । हाम्रो खेलकुद