
बागलुङ, २ चैत । कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार समुह ‘क’ को अन्तिम खेलमा गुठी युनाईटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती फाइलनमा प्रवेश गरेको हो । गुठीले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा फाइनल पुग्ने मौका गुमायो ।
खेलको १२ औं मिनेटमा कर्नर बललाई हेडिङबाट गोल गर्दै अविशेषक बोहोराले गुठीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको गुठीले दोस्रो हाफमा राम्रो मौका पाएपनि गोल गर्न भने सकेन् ।
पहिलो हाफमा १ गोलले पछि परेको कालिका भगवतीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । खेलको ५९ औं मिनेटमा कालिका भगवतीका मनिष श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मनिषले नै खेलको ८१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो । मनिषले खेलको ८२ औं मिनेटमा गुठीका किपरबाट विट गर्दै ब्याकहिल गोल गर्दै कालिका भगवतीलाई २–१ को जित दिलाए ।
कालिका भगवतीले लिगको ३ खेलमा २ जित र १ बराबरी सहित ७ अंक प्राप्त गर्दै समुहको शिर्षस्थानमा रहयो भने गुठीले १ जित १ बराबरी र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।
यस्तै रामरेखा युवा क्लबले लिगको आफ्नो अन्तिम खेलमा पावर फिटनेश क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ । रामरेखाको जितमा कप्तान गणेश चोखालले २, अभिशेक पुन र हेनसन बोहोराले १–१ गोल गरेका थिए । कप्तान चोखालले खेलको पहिलो मिनेट र ६१ औं मिनेटमा गोल गरेका थिएभने अभिषेक पुनले खेलको तेस्रो मिनेट र हेनसन बोहोराले ६४ औं मिनेटमा गोल गरेका थिए ।
अन्तिम खेलमा जित हात पारेको रामरेखाले ३ खेलमा १ जित, बराबरी र १ हार सहित ४ अंकका साथ समुहको तेस्रो स्थान र पावर फिटनेस क्लबले १ खेलमा बराबरी र २ खेलमा हार बेहोर्दै १ अंकका साथ लिगको अन्त्य गरेका छन् ।
प्रतियोगिता अन्तरगत बिहिबार समूह ‘ख’का लिगका अन्तिम खेल हुनेछन् । बुधबार समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो । समुह ‘ख’बाट फाइनल पुग्न बाल जीवन खेलकुद क्लबलाई बराबरी खेले पुग्नेछ । बाल जीवन दुई खेलमा ६ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छभने ३/३ अंकका साथ विर गोर्खाली युवा क्लब दोस्रो र बागलुङ कालिका युवा क्लब तेस्रो स्थानमा रहेका छन् । यस्तै चौथो स्थानमा रहेको रुद्रेपिपल युवा क्लबले दुई खेलमा पराजित हुँदै कुनै अंक प्राप्त गरेको छैन ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली लिगमा छनोट हुन सफल भएका थिए । प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुने छ ।
लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।