बागलुङमा जिल्ला लिग फुटबल सुरु

बागलुङ, २८ फागुन । बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल बराबरीमा सकिएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गुठी युनाइटेड क्लब र रामरेखा फुटबल क्लबले १–१ गोल बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । गुठी युनाइटेडको लागि सुदिप श्रेष्ठले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यो अग्रता दुई मिनेट पनि टिकेन । रामरेखा फुटबल क्लबका सागर बानियाँले खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

उक्त खेलको म्यान अफ द म्याच रामरेखाका गोलरक्षक सुजन किसान घोषित भए ।

यस्तै दोस्रो खेलमा पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा पावर फिटनेसले बराबरीमा खेलको अन्त्य गरेको हो । खेलको २२ औं मिनेटमा सन्दिप विकले गोल गर्दै पावर फिटनेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा पावर फिटनेशले पेनाल्टी प्राप्त गरेपनि अनुपम श्रेष्ठको प्रहार बारमा लाग्दै बाहिरिएपछि अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो । पहिलो हाफ १ गोलले पछि परेको कालिका भगवतीको लागि खेलको हाफको ५५ औं मिनेटमा रोशन लामिछानेले गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

दोस्रो हाफको ८० औं मिनेटमा पावर फिटनेशका गोलकिपर विट भइसकेको अवस्थामा गोललाइनबाट विकास थापाले हातले बल जोगाएपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । उक्त फलमा कालिका भगवतीले प्राप्त गरेको पेनाल्टीमा गणेश लामिछानेको प्रहार बाहिरिएपछि अन्तिम समयमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

खेलको म्यान अफ द म्याच पावर फिटनेश क्लबका अनुपम श्रेष्ठ घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत अन्तरगत आईतबार समूह ‘ख’का खेलहरु हुनेछन् । समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र विर गोर्खाली युवा क्लबबीच हुनेछ भने दोस्रो खेल बाल जीवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लबबीच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here