जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बागलुङ, २५ फागुन । बागलुङमा फागुन २८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

जिल्ला फुटबल संघ बागलुङको आयोजनामा फागुन २८ गतेदेखि चैत ४ गतेसम्म जिल्ला लिग संचालन हुने अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । फुटबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको छ । संघले लिगमा सहभागि हुने ८ टिमलाई दुई समुहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरेको छ ।

संघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार समुह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब रहेका छन् । यस्तै समुह ‘ख’मा रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब रहेका छन् । संघले लिगको उद्घाटन खेल रामरेखा फुटबल क्लब र गुठी युनाइटेड क्लब विच हुने जनाएको छ ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिगमा प्रत्येक क्लबले धौलागिरी अञ्चल बाहेकका जिल्लाका तीन जना खेलाडीहरु समावेश गराउन पाउने छन् । यस्तै ए र वि डिभिजन सहित अन्य जिल्लामा लिग खेलेका खेलाडीहरुलाई सहभागि नगराइने अध्यक्ष गुरुङले बताउनुभयो ।

लिग विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहित विधागत पुरस्कार समेत वितरण गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here