
पोखरा, २३ फागुन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनजागरणमा जागरण दैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले सहकारीमार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो । समाजको हर परिवर्तनका लागि पत्रकारिताको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले सहकारी मार्फत संस्थागत रुपमा सञ्चार माध्यम सञ्चालन गरेर उदाहरणीय कार्यको प्रयास भएको र आगामी दिनमा कुनै लहडमा नभई तथ्यमा पुगेर पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्नुभयो । सहकारी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा भएकाले सहकारीलाई उद्धेश्यमा केन्द्रित गरेर सञ्चाल नगर्न सके समाज र देशले गति लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका गण्डकी प्रदेश सह–इञ्चार्ज मन कुमारी केसीले सबल सशक्त र दीगो सञ्चार संस्थाको आवश्यकताबोध गरेर सुरु गरिएको पत्रिका डेढ दशक अविछिन्न प्रकाशित हुनु सुखद सन्देश भएको बताउनुभयो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थागत रुपमाजिल्ला स्तरमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन गरिएको र प्रविधिको तिव्रतर विकाससँगै प्रादेशिक स्तरमा आदर्श सञ्चार डट कम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमार जिसी अञ्जुको अध्यक्षतामा सम्पन्न भएको थियो ।