
बागलुङ, २३ फागुन । रामरेखा युवा क्लब र बिर गोर्खाली युवा क्लब जिल्ला लिग फुटबल प्रतियोगिताको लागि छनोट भएका छन् ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको नकआउट चरणको खेलमा सोमबार रामरेखा युवा क्लबले गुठी युनाइटेड क्लबलाई र बिर गोर्खाली युवा क्लबले बलेवा युवा क्लबलाई पराजित गर्दै जिल्ला लिगको लागि छनोट भएका हुन् ।
सोमबार भएको पहिलो खेलमा रामरेखा युवा क्लबले गुठी युनाइटेड क्लबलाई सडनडेथमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोलको बारबरी भएपछि थपिएको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
गुठी युनाइटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । गुठी युनाईटेडको लागि खेलको ५ औं मिनेट र १७ औं मिनेटमा मनोज क्षेत्रीले गोल गर्दै २–० को अग्रता दिलाएका थिए । रामरेखाका गणेश चोखालले खेलको ३१ औं मिनेटमा गोल गर्दैै पहिलो हाफमा खेललाई २–१ मा झारेका थिए । दोस्रो हाफमा रामरेखाका भिसिन बोहोराले गोल गर्दै खेललाई ट्राइब्रेकमा पुराएका थिए । पेनाल्टी सुटआउटमा रामरेखाका एक खेलाडीले बाहिर हानेभने गुठीका दुई खेलाडीको प्रहार रामरेखाका किपरले बचाएका थिए ।
यस्तै आजै भएको दोस्रो खेलमा बिर गोर्खाली युवा क्लबले बलेवा युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै जिल्ला लिगमा छनोट भएको छ ।
बिर गोर्खालीले खेलको १० औं मिनेटमा कप्तान प्रमल थापाको गोलबाट अग्रता लिएपनि ३६ औं मिनेटमा बुद्ध माझीले आत्मघाति गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भएको थियो । दोस्रो हाफमा आक्रमक रुपमा खेलेको बलेवाको लागि खेलको ३७ औं मिनेटमा विनेक खत्रीले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । बलेवाले खेलको अन्तिम समयमा समालिन नसक्दा १ मिनेटको अन्तरालमा २ गोल खान पुग्यो । बिर गोर्खालीका मनोज लामिछानेले खेलको ७४ औं र शेखर क्षेत्रीले ७५ औं मिनेटमा गोल गर्दै टिमलाई जिल्ला लिगको लागि स्थान पक्का गरे ।
जिल्ला लिगको लागि एक टिम छनोटको लागि मंगलबार गुठी युनाईटेड युवा क्लब र बलेवा युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । लिगमा छनोट हुनको लागि नयाँ ७ टिम विच नकआउट चरणको खेल जारी छ । अध्यक्ष गुरुङले जिल्ला लिगको लागि पहिले लिग खेलेका ५ टिम छनोट भएको र नयाँ ७ टिमबाट ३ टिम छनोट हुने बताउनुभयो ।
जिल्ला लिग फुटबल प्रतियोगिता फागुन २८ गतेदेखि हुने संघले जनाएको छ ।