
काठमाडौं, ४ फागुन । नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।
मछिन्द्रले सातदोबाटोलाई १–० ले हराउँदै लगातार दोस्रो वर्ष लिग च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा गोल गरेका थिए ।
खेलको नवौ मिनेटमा कप्तान मान बहादुर तामाङको फ्रिकिकलाई गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १८औं मिनेटमा कप्तान मानबहादुरको कर्नरमा सुदिप गुरुङको प्रहार फितलो बन्दा गोलरक्षक विशाललाई कुनै गाह्रो भएन । लगत्तै काउन्टरमा विमल घर्तीमगरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
२२औं मिनेटमा रेजिन धिमालको कर्नरमा सुनिल बलको हेडरलाई गोलरक्षक अभिषेकले बचाउँदा रिवाउन्डको नुर्लान नोभ्रुजोभको हेडरलाई निरज चौधरीले गोललाईनबाट क्लियर गर्दै सातदोबाटोको संकट टारे । लगत्तै २४औं मिनेटमा नुर्लानको क्रसमा विमल घर्तीमगरको हेडरलाई गोलरक्षक अभिषेकले विफल पारे ।
२९औं मिनेटमा आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार गोलरक्षक विशालले हुलमुलका बीच नियन्त्रणमा लिए । ३२औं मिनेटमा मानबहादुरको फ्रिकिकमा मार्टिन एडेल्फे सिलो नंगाको हेडरलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए ।
५३औं मिनेटमा सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरलाई गोलरक्षक अभिषेकले बचाएपनि क्रसबारमा लाग्दै फर्कदा अनमार्क रहेका नुर्लानले सहजै फिनिस गरे । ५५औं मिनेटमा नुर्लानले पास दिनुपर्ने बलमा आफैले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल मछिन्द्रले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।
छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।